HAMRODESH.COM “HamroDesh, HamroPran” :: अब इन्टरनेटबाट टेलिभिजन : : October : : 2006

HAMRODESH.COM “HamroDesh, HamroPran”

October 16, 2006

अब इन्टरनेटबाट टेलिभिजन

Filed under: सूचना प्रविधि - सँकल्प @ 1:57 pm

विश्व प्रसिद्ध सफ्टवेयर उत्पादक ‘माइक्रोसफ्ट’ ले दशक लामो प्रयासपछि यही वर्षभित्र इन्टरनेटमार्फत टेलिभिजन च्यानललाई बगाउने तयारी गरेको छ। ‘हाई स्पिड इन्टरनेट नेटवर्क’ का माध्यमबाट यो योजनालाई मूर्तरूप दिने अन्तिम तयारी भएको उक्त कम्पनीले जनाएको छ। ‘इन्टरनेट प्रोटोकल टीभी’ नामकरण गरिने यो प्रविधि सफल भए यससँग जोडिएका थुप्रै टेलिफोन कम्पनीका निम्ति भाग्यको भण्डारसमेत खुल्ने छ। जसले घर-घरमा टेलिभिजन च्यानलहरू बगाउँदै आएको केबुल नेटवर्कलाई ठाडो चुनौती दिनेछ। यतिबेला ‘यु ट्युब’ मार्फत बग्दै आएको भिडियो क्लिपहरू अपलोड गरेर टीभीको आनन्द लिने काम भइरहेको छ। तर यो प्रविधि सफल भएपछि भने फोन कम्पनीमार्फत वेबको मुख्य राजमार्गबाटै बगाइने टेलिभिजन ठीक त्यसैगरी हेर्न पाइनेछ, जसरी अहिले केबुल टीभी वा स्याटेलाइट टीभीमार्फत हामीले टेलिभिजन च्यानलहरू उपभोग गर्दै आइरहेका छौं। अहिलेको युगमा इन्टरनेट नजोडिएको कम्प्युटरको हालत जस्तो हुन्छ ठीक त्यस्तै हालत आफ्नो योजना लागू भएपछि ‘इन्टरनेट प्रोटोकल’ नजोडिएको टेलिभिजन सेटको बनाउने तयारी माइक्रोसफ्टको छ। यतिबेलासम्म माइक्रोसफ्टको यो योजनामा बाह्रवटा अन्तर्राष्ट्रिय टेलिफोन कम्पनीहरूले साझेदारी जनाइसकेका छन्। माइक्रोसफ्टले आफ्नो यो योजनाका साथ यस्ता सफ्टवेयरहरूको समेत विकास गर्न लागेको छ जसबाट घरको टेलिभिजन सेटबाटै इमेल, खरिददारी र ‘इन्स्टेन्ट म्यासेज’ गर्नेजस्ता कामसमेत गर्न सकिने छ। ‘कम्प्युटरको घेराबाट नाघेर यो सेवाले विश्वभरिका टेलिभिजन सेटहरूमा समेत प्रवेश गर्‍यो भने, ‘माइक्रोसफ्टका प्रमुख कार्यकारी स्टिभ बालमर भन्छन्- ‘तपाई अन्दाज गर्न सक्नुहुन्न यसको दायरा कति फराकिलो हुनेछ।’ यस किसिमको सेवा माइक्रोसफ्टले पहिले नै टेलिभिजन सेटहरूमा बगाउन खोजे पनि त्यो प्रभावकारी नभएको अवस्थामा ‘इन्टरनेट प्रोटोकल’ ले त्यसलाई साकार पार्ने विश्वास उक्त कम्पनीको छ। औद्योगिक अनुसन्धान कम्पनी ‘गार्टनर’ ले यो सेवा सुरु भएपछि सन् २०१० भित्रमै इन्टरनेट प्रोटोकलको पाँच करोड उपभोक्ता हुने र त्यसबाट १३ खर्ब अमेरिकी डलर आम्दानी हुने भविष्यवाणीसमेत अहिले नै गरिसकेको छ।

साभार: कान्तिपुर

Comments »

No comments yet.

Leave a comment



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft